दक्षिण एसिया अन्तर्राष्ट्रिय वृहत् पुस्तक प्रदर्शनी मङ्सिरमा हुने!
लामो समयपछि नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर नेपालको संयुक्त आयोजनामा दक्षिण एसिया अन्तर्राष्ट्रिय वृहत् पुस्तक प्रदर्शनी (South Asia International Book Fair -2023) यही २०८० मङ्सिर ५ देखि १० गतेसम्म आयोजना हुने भएको छ। नेपाल, चीन, भारत, बङ्गलादेशलगायतका दक्षिण एसियाली राष्ट्र र अन्य केही देशको समेत सहभागिता रहने यस प्रदर्शनीका १८० भन्दा धेरै स्टलहरूमा विश्वका विभिन्न भाषा, लेखक र प्रकाशकका पुस्तक एवं चर्चित प्रतिष्ठित ब्रान्डका स्टेसनरी तथा खेलकुद सामग्रीसमेत राखिने जानकारी प्राप्त भएको छ।
लामो समयपछि यति वृहत् र यस तहको संभवतः पहिलो पुस्तक प्रदर्शनी भएकाले यसबाट नेपालका लेखक, प्रकाशक, वितरक, विद्यार्थी, अभिभावक, विद्यार्थी र आम पाठकजगतले बडो उत्साहका साथ प्रतीक्षा गरिरहेको पाइएको छ। यसै कारण पनि आयोजकले लाखौँ मानिसद्वारा प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरेका छन्। यसभन्दा अघि वि. सं. २०६४ देखि २०७४ सम्मको १० वर्षमा राजधानी काठमाडौं उपत्यकाबाहिर ८ ओटा वृहत् पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवहरू भव्यरुपमा सम्पन्न गरेको महासङ्घले त्यस अवधिकै बिचमा काठमाडौंमा अन्य संस्थाहरूसँग मिलेर तीनओटा अन्तर्रष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवसमेत सम्पन्न गरेको छ।
“हात हातमा पुस्तक : घर घरमा पुस्तकालय”, सामाजिक ररूपान्तरणका लागि शिक्षामा नयाँ अभियान” जस्ता अत्यन्त उपयोगी एवं लोकप्रिय नाराका साथ गुणस्तरीय उत्पादन, मर्यादित व्यापारका साथै पठन-संस्कृतिको विकासमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घको अत्यन्त महत्त्वपूर्ण भूमिका रहँदै आएको छ। व्यावसायिक एकता, व्यवसायको संरक्षणका साथसाथै सामाजिक दायित्व निर्वाह गर्ने क्रममा विविध सामाजिक कार्यहरूसमेत महासङ्घले गर्दै आएको छ।
यस दक्षिण एसिया अन्तर्राष्ट्रिय वृहत् पुस्तक प्रदर्शनीमा बालसाहित्य, किशोर तथा प्रौढ सबै उमेरसमूहका साहित्यिक पुस्तक तथा शैक्षिक सामग्री राखिने आयोजकले जानकारी गराएका छन्। यस दौरान पुस्तक विमोचन, लेखक-पाठक साक्षात्कार, लेखक हस्ताक्षर कार्यक्रम, समसामयिक विषयहरूमा सरोकारवाला पक्षबिच छलफल तथा अन्तरक्रिया कार्यक्रम, विद्यार्थीहरूका लागि विविध सिर्जनात्मक कार्यक्रमहरूसमेत आयोजना हुन लागेको कुरा आयोजक महासङ्घका वरिष्ठ उपाध्यक्ष एवं यस प्रदर्शनी कार्यक्रमका संयोजक दिवाकर घिमिरेले बताउनुभएको छ। सिर्जनात्मक विविध कार्यक्रमअन्तर्गत विद्यालयस्तरीय राष्ट्रव्यापी निबन्ध प्रतियोगितासमेत आयोजना गरिएको जानकारी प्राप्त भएको छ। देश विदेशका प्रतिष्ठित प्रकाशक तथा स्टेसनरी उत्पादक, वितरकहरूको सहभागिता रहने महासङ्घका अध्यक्ष सञ्जयकुमार चौधरीले बताउनुभएको छ। महासङ्घका महासचिव शिवसागर शर्माले कार्यक्रम अत्यन्त फलदायी एवं भव्य हुने बताउनुभएको छ।
यस प्रकारका शैक्षिक कार्यक्रमहरूको आयोजना पहिलेदेखि गर्दै आएको अर्काे आयोजक संस्था करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरले सञ्चार क्षेत्रका साथसाथै शिक्षा तथा पठन संस्कृति विकासका लागि समेत कार्य गर्दै आएको सेन्टरका प्रमुख किरण गौतमले बताउनुभएको छ। कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नका लागि आआफ्ना तर्फबाट सहयोग गर्न शिक्षा, भाषा र साहित्य क्षेत्रका सम्पूर्ण सङ्घसंस्था, व्यक्ति र व्यक्तित्वहरूलाई आयोजक दुवै संस्थाले संयुक्त आह्वान गरेका छन्।
– रामदेव पाण्डे
ramdevjiramdev@gmail.com